Kathmandu Press

कोशीमा कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार

मुख्यमन्त्री आधा–आधा कार्यकाल बाँड्ने कुरामा कांग्रेस स्पष्ट भएर आए त्यसमा पनि आफूहरु तयार हुनसक्ने कार्कीले बताए।
कोशीमा कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार

काठमाडाैं, साउन १२ : सर्वोच्च अदालतले उद्धव थापाको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया बदर गरेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार भएको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताए ।

‘हामी ओपन नै छौं । मेरो मान्यता के छ भने अहिले देशका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा मुलुकको डेमोक्रेसीलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरालगायतका तमाम उठिरहेका राजनीतिक मुद्दाहरुमा हाम्रा कुराहरु मिल्छन् भने हामी अगाडि बढ्न तयार छौं,’ उनले भने।

कार्कीले सहमति भए मुख्यमन्त्री जोसुकैलाई दिन तयार भएको बताए। उनले भने, ‘मुख्यमन्त्री ठूलो कुरा होइन, मुख्यमन्त्री दिन जोसुकैलाई पनि सकिन्छ। यदि आफूसँग बहुमत पुगेन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन।’

मुख्यमन्त्री आधा–आधा कार्यकाल बाँड्ने कुरामा कांग्रेस स्पष्ट भएर आए त्यसमा पनि आफूहरु तयार हुनसक्ने कार्कीले बताए।

 

प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्