प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
काठमाडाैं, साउन १२ : प्रधानमन्त्री पुष्पकमल दाहालइटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फकिएका छन्।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरेका थिए।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा उनले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए। सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।
रोममा प्रधानमन्त्री दाहालले बंगलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यू, इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टका प्रमुख एल्भारो लाइरोसँग पनि भेट गरेका थिए।











