राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा माग्नु राम्रो होइन : प्रधानमन्त्री दाहाल
सुन प्रकरणका बारेमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग कुरा गरेपछि मात्र आफूले थप कुरा गर्ने पनि प्रधानमन्त्री दाहालले बताए।
काठमाडौं, साउन १२ : प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा माग्ने संस्कृति राम्रो नभएको बताएका छन्।
इटालीको एकसाता लामो भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको भन्दै स्पष्टीकरण राख्न दिनुपर्ने बताए।
‘राजनीतिक उद्देश्यको निम्ति प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन।’
सुन प्रकरणका बारेमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग कुरा गरेपछि मात्र आफूले थप कुरा गर्ने पनि प्रधानमन्त्री दाहालले बताए।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको प्रधानमन्त्री दाहालले बताए।
सम्मेलनका क्रममा बांग्लादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएकोसमेत उनले बताए।
प्रधानमन्त्री दाहालले लम्पी स्किनका बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताए । सरकारको लम्पी स्किनको निदानतर्फ सचेत रहेको पनि उनको भनाइ छ ।











