प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
साउन ८ देखि १० गतेसम्म रोममा आयोजना भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी गत शनिबार साँझ त्यसतर्फ गएका थिए ।
काठमाडौं, साउन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । साउन ६ गते इटाली गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन् ।
साउन ८ देखि १० गतेसम्म रोममा आयोजना भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी गत शनिबार साँझ त्यसतर्फ गएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागु गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए ।











