‘स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस्’
उनले समुदायलाई संगठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे।
काठमाडौं, साउन ११ : सभामुख देवराज घिमिरेले सामुदायिक विद्युतका अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गरेका छन्।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले समुदायलाई संगठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे।
‘दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई सार्थक बनाउन महत्त्वपूर्ण काम गर्ने अभियानमा महासङ्घ क्रियाशील होस्, उत्साहका साथ ग्रामीण जनताका बीचमा उज्यालो छर्नेमा मात्रै होइन, स्थानीय तहमा उद्योग स्थापना गर्ने काममा लाग्नुस्, त्यसका लागि आउने अप्ठ्यारो आफ्नो ठाउँबाट समाधान गर्न लागि पर्नेछु,’ सभामुख घिमिरेले भने।
उनले सामुदायिक हितमा ऐन बनाउने कुरा विधेयकलाई अगाडि बढाउने क्रममा बहस तथा छलफल गर्ने, सरोकारवालासँग आवश्यक समन्वय गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।











