चिनियाँ नागरिकले भाडामा लिएको घरमा खानतलासी

काठमाडौं, साउन ११ : राजश्व अनुसन्धान विभागले चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने लाजिम्पाटस्थित घरमा विभागले खानतलासी गर्दा महत्वपूर्ण कागजात र सामग्री बरामद हुन सक्ने आशंका गरिएको राजश्व अनुसन्धान विभाग स्रोतको भनाइ छ। त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकको आउजाउ हुने गरेको देखिएको विभाग स्रोतको भनाइ छ।
भाडाको उक्त घर विभागले सिल गरेको जनाइएको छ। सो ङरमा केही बाकस भेटिए पनि सुन नभेटिएको विभाग स्रोतले जनाएको छ। सो घरलाई अहिले विभागले सिल गरेको छ।
विभागले यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो। त्यसक्रममा ब्रेक सु बरामद गरिए पनि सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइ छ।
साउन २ गते विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले सय किलो सुन बरामद गरेको थियो। सो प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्।











