Kathmandu Press

ड्राइभर फर्किए, बस क्वारेन्टाइनमा

काठमाडौं, फागुन ४ : चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म लैजान प्रयोग गरिएको बसलाई ४८ घण्टा क्वारेन्टाइनमा राखिएक....

ड्राइभर फर्किए, बस क्वारेन्टाइनमा

काठमाडौं, फागुन ४ : चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म लैजान प्रयोग गरिएको बसलाई ४८ घण्टा क्वारेन्टाइनमा राखिएको छ । बसबाट भाइरस फैलन सक्ने भन्दै उनीहरुले प्रयोग गरेको सात वटा बसलाई क्वारेन्टाइनमा राखिएको हो । 

तर बस चालकलाई भने क्वारेन्टाइनमा राखिएको छैन । चालक सबैले सुरक्षित तरिका अपनाएको कारण  डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा नराखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार बसका चालकहरु चीन नगएको र उनीहरुले विमानस्थल भित्र प्रवेश गर्नु अघिनै सुरक्षित तरिका अपनाएको कारण क्वारेन्टाइनमा नराखिएको हो । उनले भने, 'चीनबाट ल्याइएका नेपाली राखिएको बसमा यात्रु र चालक बस्ने छुट्टै कोठा छ, ढोका खोल्न हाइड्रोलिक प्रयोग भएको छ, यात्रु र चालकको भेट नै नभएको कारण चालकलाई क्वारेन्टाइनमामा नराखिएको हो।' 

मन्त्रालयको आग्रहमा बस व्यवसायीहरुले ७ वटा पर्यटकीय बस उद्धारकाे लागि उपलव्ध गराएका थिए । उद्धारमा प्रयोग भएका बसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वपट्टीको छुट्टै पार्किङ वे मा राखिएको छ। उद्धारमा प्रयोग भएको नेपाल वायुसेवा निगमको एयरबस ३३० (वाइडबडी), पर्यटक बस तथा एम्बुलेन्स सबैलाई सगैँ क्वारेन्टाइनमा राखिएको छ।

आचार्यका अनुसार उद्धारमा प्रयोग गरिएको विमान तथा बसलाई विभिन्न केमिकलले सफा गरिएको छ। प्रयोग भएका सबै सामाग्रीहरु विश्व स्वास्थ्य संगठनको नियमअनुसार ४८ घण्टासम्म ग्राउण्डेड हुनेछ।

चीन पुगेर फर्किएका विमानचालक तथा नेपाली सेनाका डाक्टरहरुलाई भने नगरकोटको खानेपानी कार्यालयमा राखिएको छ। ‘उनीहरुलाई ७ देखि १५ दिनसम्म क्वारेन्टाइनमा राखिने तयारी भएको छ। सात दिनपछि स्वास्थ्य परीक्षण गरेरमात्र थप क्वारेन्टाइनमा राखिने वा छोडिने भन्ने यकिन हुन्छ । आचार्यले भने।’

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्