हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा र्याल, सिँगानको छिटाबाट पनि यो रोग सर्ने सम्भावना हुने जनाइएको छ। चिउँडो गलफुलाले अचेत, धेरै पेट दुख्ने, तारान्तार बान्ता हुने, अण्डकोष सुन्निने, कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुनेजस्ता जटिलता निम्तने भन्दै मन्त्रालयले सचेत समेत गराएको छ।
काठमाडौं, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे÷गलफुलो लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै चिउँडो वा गालाको एकातिर वा दुवैतिर सुन्निएर दुख्ने जस्ता लक्षण देखिएमा हाँडे÷गलफुलो हुने सम्भावना भएकाले स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार हाँडेगलफुलो भएमा ज्वरो आउनु, हाडजोर्नी दुख्नु, खान मन नलाग्नु, रुघा खोकी लाग्नु, टाउको दुख्ने, थकान महसुस हुनु शरीर दुख्नु, जस्ता लक्षण देखिने गर्दछन्।
सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा र्याल, सिँगानको छिटाबाट पनि यो रोग सर्ने सम्भावना हुने जनाइएको छ। चिउँडो गलफुलाले अचेत, धेरै पेट दुख्ने, तारान्तार बान्ता हुने, अण्डकोष सुन्निने, कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुनेजस्ता जटिलता निम्तने भन्दै मन्त्रालयले सचेत समेत गराएको छ।
चिउँडो/गलफुलो भएर बिरामी भएमा कम्तीमा पाँच दिन घरमै आराम गर्न, प्रशस्त पोसिलो आहार र झोलिलो खानेकुरा खान, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडा, कपडा प्रयोग नगर्न भनिएको छ।
बिरामीले खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने, मास्क लगाउने, साबुनपानी मिचिमिची हात धुन, व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिन समेत आग्रह गरिएको छ।