स्नातक तहमा सबै प्रश्न भारतबारे सोधिएपछि अख्तियारमा उजुरी
गत साउन ८ गते सञ्चालन भएको भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएको इतिहासको ऐच्छिकतर्फ हिस्ट्री ४१०, इलेक्टिभ २, इन्टरडक्सन टु टुरिजम डेभलपेमन्ट विषयमा सबै प्रश्न भारतबारे सोधिएको भन्दै छानबिनका लागि विद्यार्थीले उजुरी दिएका हुन्।
काठमाडौं, साउन ११ : त्रिभुवन विश्वविद्यालयको स्नातकतर्फको परीक्षामा सबै प्रश्न भारतको विषयमा सोधिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायतविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो।
गत साउन ८ गते सञ्चालन भएको भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएको इतिहासको ऐच्छिकतर्फ हिस्ट्री ४१०, इलेक्टिभ २, इन्टरडक्सन टु टुरिजम डेभलपेमन्ट विषयमा सबै प्रश्न भारतबारे सोधिएको भन्दै छानबिनका लागि विद्यार्थीले उजुरी दिएका हुन्। त्रिभुवन विश्वविद्यालयकै विद्यार्थी केन्द्रमणि पौड्यालसहितका विद्यार्थीले अख्तियारमा उजुरी दर्ता गराएका हुन्।
उजुरीमा एकपछि अर्को गैरकानुनी र अख्तियारविपरीतका कार्य भएको बताउँदै जोशीलाई तत्काल निलम्वनको माग गरिएको छ। न्यूनतम योग्यता नपुगेका शिक्षकहरुलाई विषय विज्ञमा नियुक्ति गरी परीक्षा सञ्चालनका लागि पर्यवेक्षकमा नियुक्ति गर्ने, परीक्षकमा नियुक्ति गर्ने, संपरीक्षकमा नियुक्ति गर्ने, प्रश्न पत्र निर्माण र मोडरेसनमा संलग्न गराउनेसमेतका कार्यहरु गराउँदै आएका आरोप समेत उजुरीमा लगाइएको छ।
यस्तै, विभिन्न क्याम्पस तथा विद्यार्थीहरुसँग आर्थिक लाभमा परी प्रश्नपत्र चुहावट गर्ने, परीक्षा केन्द्रहरु सेटिङमा तोक्ने कार्यहरु गर्दै आएको दाबी समेत गरिएको छ।











