भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ कांग्रेसले साथ दिने, कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज हुने
आन्दोलनका क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री शर्माले बताए।
काठमाडौं, साउन १० : नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले त्यस्तो निर्णय सुनाएका हुन्। भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति कांग्रेसले लिएको उनले बताए।
यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको बताउँदै उनले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए।
कुनै पनि माग राखेर आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ। आन्दोलनका क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री शर्माले बताए।
‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आवद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ,’ उनले भने।











