पुरानो संसद् भवनको प्रबलीकरणको तयारी भइरहेको छ : मन्त्री गुरुङ
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा मन्त्री गुरुङले पुरानो संसद् भवनलाई संसदीय संग्रहालयका रुपमा विकास गर्न प्रबलीकरणको तयारी भइरहेको बताएकी हुन्।
काठमाडौं, साउन १० : सहरी विकासमन्त्री सीता गुरुङले सिंहदरबारस्थित पुरानो संसद् भवनको प्रबलीकरणको तयारी भइरहेको जानकारी दिएकी छन्।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा मन्त्री गुरुङले पुरानो संसद् भवनलाई संसदीय संग्रहालयका रुपमा विकास गर्न प्रबलीकरणको तयारी भइरहेको बताएकी हुन्।
उक्त भवनलाई प्रवलीकरण गरि पुरानै अवस्थामा फर्काउने कार्ययोजनाका साथ काम गरिरहेको उनले बताइन्। त्यस्तै उनले भक्तपुरको गुण्डुमा मंगला साहान पुनस्थापना केन्द्र स्थापनामा जग्गाको विवाद देखिएकाले केही ढिलाइ भइरहेको जानकारी दिइन्।
उनले काठमाडौंको गोठाटारमा निर्माण गर्ने भनिएको ज्येष्ठ नागरिक आवास र अस्पताल निर्माणमा पनि पशुपति क्षेत्र विकास कोषको जग्गा भएकाले केहि प्राविधिक विषय टुंगिन बाँकी रहेको बताइन्।
बैठकमा भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले एक सय वर्षको इतिहासको प्राविधिक र महत्व बोकेको पुरानो संसद भवन जस्ताको त्यस्तै राख्न कोसिस गरिरहेको बताए।