पुस्तकमा महिलामाथि गम्भीर अपमान हुने विषय राखिएकाे भन्दै लेखकमाथि कारबाही माग

काठमाडौं, साउन १० : सांसद ईश्वरी घर्ती मगरले सरकारका वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृतले लोकसेवा तयारी पुस्तकमा राखेको एउटा प्रश्नले महिलामाथि गम्भीर अपमान भएको बताएकी छन्।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रामएकल दासको सफलताको साथी भन्ने पुस्तकमा ‘केटीलाई भालु किन भनिएको होलारु’ भन्ने प्रश्न राखिएको भन्दै उनलाई पदबाट हटाउन माग गरिन्।
‘नेपाल सरकारको बहालबाला कर्मचारी भएर लोकसेवाको तयारी कक्षामा महिलामाथि यस्तो अपमान मात्र होइन, महाअपमान हुने शब्द राख्नु हुन्छ कि हुँदैन? यो शब्दले आम नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्याएको छ। यो पुस्तक लेख्ने राम एकल दासलाई तुरुन्त निलम्बन गरेर कारबाही अगाडि बढाउन माग गर्दछु,’ उनले भनिन्।
वन तथा वातावरण मन्त्रालयमा सहायक संरक्षण अधिकृतका रुपमा कार्यरत दासद्वारा लिखित पुस्तकको एउटा प्रश्न केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। महिलाप्रति नीच र घृणित धारणा राखेको भन्दै दासको वरिोध भइरहेको छ। ‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक’ विषयको पुस्तकमा उनले लेखेको प्रश्न र वैकल्पिक उत्तर यस्तो छः
केटीलाई किन भालु भनिएको होला?
(क) पोथी भालुजस्तै व्यवहार भएर
(ख) पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर
(ग) पोथी भालु बहुमति गामी हुन्छ
(घ) माथिका सबै











