एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगन, अर्को बैठक साउन १५ गते बस्ने
एमाले सांसदहरुले वेल घेराउ गरेपछि सभामुखले अर्को बैठक साउन १५ गते सोमबार दिनको १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन्।
काठमाडाैं, साउन १० : एमालेले शून्य समय प्रारम्भ हुनेबित्तिकै सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
आकस्मिक समयमा सांसदरूले धारणा राखेपछि सभामुख देवराज घिमिरेले शून्य समय प्रारम्भ गर्न लाग्दा एमालेका सांसदहरू सिटबाट उठेका थिए। सभामुखले समय दिएपछि बोलेका उमाले प्रमुख सचेतक पदम गिरीले आफूहरूको माग पूरा नभएसम्म सदन अघि बढ्न नसक्ने बताए
त्यसपछि एमालेका सांसदहरुले नाराबाजी गरे। एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए। तर सभामुखले शून्य समयको कारबाही अघि बढाउन खोजेपनि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।
एमाले सांसदहरुले वेल घेराउ गरेपछि कार्यसूचीमा रहेका सम्पूर्ण विषयहरुलाई हटाउँदै सभामुखले अर्को बैठक साउन १५ गते सोमबार दिनको १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन्।











