नेपाल सुन तस्करको ट्रान्जिट बनेकाे छ, तस्करीका नाइकेको संरक्षण गर्न खोजिएको छ : लिङ्देन
भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा जरासम्म पुग्नुपर्ने भए पनि सरकार जरासम्म पुग्न तयार नभएकाे उनले बताए।
काठमाडौं, साउन १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट बन्दै गएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र रहेको बताए।
सरकारले सूचना पाएर भन्दा पनि विदेशीले सूचना दिएपछि सुन तस्करी काण्ड बाहिर आएको उनले दाबी गरे। ‘नेपाल सुन तस्करको ट्रान्जिट भएको छ। अरु देशले सूचना दिएर पक्राउ परेको भन्ने बजारमा सूचना छ,’ उनले भने, ‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु।’
लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरे। उनले अनुसन्धानको नाममा झारा टार्ने काम भएको भन्दै छानबिन आयोग बनाएर अनुसन्धान प्रकृया अघि बढाउन माग गरे। तर भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा जरासम्म पुग्नुपर्ने भए पनि सरकार जरासम्म पुग्न तयार नभएकाे उनले बताए।











