Kathmandu Press

सुन तस्करी काण्डलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने

सुन तस्करी काण्डलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने

काठमाडौं, साउन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी काण्डलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा सामान्य मानिस कारबाहीमा पर्नु अचम्मको विषय नभएको बताउँदै यसलाई पुरानै सेटिङको निरन्तरताको रुपमा जनताले बुझेको जिकिर गरे। 

तस्करी काण्ड बाहिर आएपछि कर्मचारी बखास्त गर्नुपर्नेमा सरुवा गरिएको भन्दै आपत्ति जनाए। कर्मचारीको सरुवा गरेर समस्याको समाधान नहुने उनले बताए। कर्मचारीलाई निलम्बन नगरेरभन्सार प्रमुख र सुरक्षा प्रमुखलगायतले पदमा बस्ने नैतिकता गुमाएको उनको भनाइ थियो।

‘जब यस्ता घटना आउँछ अनि कर्मचारीको सरुवा हुन्छ। सरुवा भनेको कारबाही हो? कारबाही गरेको कि पुरस्कार दिएको? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो?’

लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे। ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला,’ उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त? किन गरिएन?’

आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ। कर्मचारी सरुवा गरेर टार्न पाइँदैन।’ भ्रष्टाचारविरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिन उनले सुझाव दिए।

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्