सुन तस्करीबारे जाँचबुझ गर्न सदनबाट उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेकाे माग
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरे।
काठमाडाैं, साउन १० : एमालेले सुन तस्करीका सन्दर्भमा सदनबाट उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरे। उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभए सदन अगाडि बढ्न नदिने चेतावनी दिए।
बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरु आआफ्नो ठाउँमा उठेपछि सभामुखले गिरीलाई बोल्न दिएका थिए। एक वर्षयता अवैध रूपले ३३ पटकसम्म सुन भित्रिँदा संरक्षण गृहमन्त्रीले गरेको र भन्सारको संरक्षण अर्थमन्त्रीले गरेको आरोप लगाए। सुन तस्करीको विषय सामान्य नभएको उल्लेख गर्दै विमानस्थलको सुरुक्षा व्यवस्था अत्यन्त कमजोर बनाइएको उनले बताए।
उनले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको बताए। रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वन्टिलका क्वीन्टल सुन भित्र्याएको उनको दाबी थियो । ‘यसरी भइरहेको सुन तस्करीलाई संरक्षण गर्ने काम गृहमन्त्रीले अर्थमन्त्रीले र प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन?’ उनले भने।
गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे। ‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो,’ उनले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन।’
उनले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए। ‘उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ ?’ उनले भने। गिरीको सम्वोधनलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाइरहेका छन्।











