कोशी प्रदेशको रिटमा सुनुवाइ सक्न समय निर्धारण
रिट निवेदकका तर्फको बहस मङ्गलवार नै सकिएको छ। विपक्षीको बहस सक्न समय निर्धारण गरिएको हो। विपक्षीका कानुन व्यवसायीले खाजा समय अघिसम्म बहस सक्ने तयारी गरेका छन्।
काठमाडौं, साउन १० : कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनलाई चाँडो निष्कर्षमा पुर्याउन सर्वोच्च अदालतको पूर्ण इजलासले बहसको समय निर्धारण गरेको छ। रिटको अन्तिम फैसला बुधबारै दिने तयारीका लागि समय निर्धारण गरिएको हो।
रिट निवेदकका तर्फको बहस मङ्गलवार नै सकिएको छ। विपक्षीको बहस सक्न समय निर्धारण गरिएको हो। विपक्षीका कानुनव्यवसायीले खाजा समय अघिसम्म बहस सक्ने तयारी गरेका छन्।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बुधवार बिहान ११ः३० देखि १ः०० बजेसम्म विपक्षी कानुन व्यवसायीका लागि बहसको समय निर्धारण गरेको हो।
खाजा समयपछि २ः३० बाट ३ बजेसम्म रिट निवेदकलाई समय निर्धारण गरिएको छ। रिट निवेदकका कानुनव्यवसायीले जवाफ दिएपछि निर्णय आउने सम्भावना छ। कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेश सरकार गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।











