‘किसानलाई मल र बीउ अभाव हुन दिँदैनौं’
सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए।
मोरङ, साउन ९ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन्। मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गर्रे।
सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए। सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो।
कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए।
सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमीस्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो।
बाढीले पुल बगाएपछि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन। यातायातका लागि महत्वपूर्ण मानिएको सो पुल भएर सवारीसाधन आवागमनमा समस्या भएको थियो।











