Kathmandu Press

‘खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्छ’

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालले बताए।
‘खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्छ’

काठमाडौं, साउन ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्। उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखे।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको बताए।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ। त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताउए।

खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ।’

प्रधानमन्त्री दाहालले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे। उनले त्यस्तो रुपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।

सन् २०२१ मा सम्पन्न ‘युएन फुड सिस्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रुपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिकरुपमा सघन छलफल गरिएको प्रधानमन्त्रीको भनाइ छ।

दिगो विकास लक्ष्यले तय गरेको लक्ष्यअनुसारको कामलाई सुव्यवस्थित रुपमा अगाडि बढाउनका लागि खाद्य प्रणाली रुपान्तरणसमबन्धी रणनीतिक योजना (सन् २०२२–२०३०) तयार पारी कार्यान्वयनमा ल्याइसकिएको प्रधानमन्त्री दाहालले जानकारी गराए।

 

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्