Kathmandu Press

लुम्बिनी प्रदेशमा भारी वर्षा, तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन्। भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ।
लुम्बिनी प्रदेशमा भारी वर्षा, तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

दाङ, साउन ९ : रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन्।

रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन्। भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ।

त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई  अपराह्नसम्म  सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उजले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

यस्तै जिल्लाको सैनामैना–८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ। स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो।

सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्तरूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए।

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो।

दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ। दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो।

प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्