पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, को सिद्धबाबा खण्डको हेडबक्समा ठूलो पहिरो खसेको छ। यस्तै, राजमार्गअन्तर्गत पानीमिल, हिउँदेखोला, डुम्रेलगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ ।
काठमाडौं, साउन ९ : अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा खण्डमा पहिरो खसेर मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, को सिद्धबाबा खण्डको हेडबक्समा ठूलो पहिरो खसेको छ। यस्तै, राजमार्गअन्तर्गत पानीमिल, हिउँदेखोला, डुम्रेलगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ ।
सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएको प्रहरी चौकी दोभानले जनाएको छ।
राजमार्गकै बर्तुङदेखि डुम्रेसम्म पनि ठाउँ–ठाउँमा पहिरो खसेको छ। कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुल नजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
पाल्पा गुल्मी सडकअन्तर्गत तानसेन नगरपालिका–५, कैलाशनगर बतासे नजिकै सल्लाका रुखहरु ढलेर सडक अवरुद्ध भएको छ। पाल्पा गुल्मी सडककै ढुंगाखानी नजिकै पहिरो खसेको छ।











