एमाले अध्यक्ष ओली र सीपीसी पोलिटब्युरो सदस्य युआनबीच भेट
मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पोलिटब्युरो सदस्य युआनले अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन्।
काठमाडौं, साउन ९ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्।
मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पोलिटब्युरो सदस्य युआनले अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, एमाले उपमहासचिव विष्णु रिमाललगायत पनि उपस्थित थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र युआनले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए।
नेपालको तीनदिने भ्रमणमा रहेका युआनले पहिलो दिन आइतबार नेपाल आएका थिए। आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको माओवादी टोलीसँग भेटवार्ता गरेका थिए।











