‘भ्रष्टाचारमा मुछिएका दोषीलाई छाडिन्नँ’
‘निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ,’ उनले भने।
काठमाडौं, साउन ८ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए।
‘निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ,’ उनले भने।
राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने बताए।
दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उनको बताए।
‘भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।
समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको उल्लेख गरे। उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको बताए।











