Kathmandu Press

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी, दुई पक्राउ, तीन फरार

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी, दुई पक्राउ, तीन फरार

काठमाडौं, साउन ८ : विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका–९ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन छन्।

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

उनीहरूले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छापेर ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुई लाख, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप एक थान तथा लेटर प्याड तीन थान, हाजिरी खाता एक थान, प्रिन्टर चार थान, कम्प्युटर चार थान र खरिद आदेशल प्राप्त भएको कागजलगायतका सामान प्रहरीले बरामद गरेको छ।

उनीहरू उपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न फरार अन्य तीन जनाको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: २०:४४ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्