Kathmandu Press

सुन तस्करीको अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले माग्याे प्रहरीको सहयोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।  
सुन तस्करीको अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले माग्याे प्रहरीको सहयोग

काठमाडौं, साउन ८ : राजश्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।  

राजश्व अनुसन्धान विभागको अनुरोधपछि प्रहरी प्रधान कार्यालय नक्सालले एसपी कृष्ण पंगेनीलाई अनुसन्धानका लागि पठाउने तयारी गरेको स्रोतको भनाइ छ। पंगेनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका प्रहरी अधिकृत हुन्।

राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहेको छ। राजश्व अनुसन्धान विभागले यही साउन २ गते सय किलो सुन बरामद गरेको थियो। हिजो (आइतबार) गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए।

त्यसक्रममा उनले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र लुकाएर हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको १०० किलो सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद भएको थियो। यस प्रकरणमा संलग्नलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्युरोको सहयोग लिएको थियो।

यस प्रकरणमा हालसम्म १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्