Kathmandu Press

भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौंमा सोमबार आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएका हुन्।
भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं, साउन ८ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएका हुन्।

अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरुको अहिले नै भ्रुण तुहिने गरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो।

'भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरुको अहिले नै भ्रूण तुहियोस्। नजन्मिउन् तिनीहरू। तर यसले मात्रै पुग्दैन। मैले भन्न खोजेको यसले मात्रै पुग्दैन,’  महासचिव भुसालले भने, 'पार्टीभित्र यो बहस सुरु हुनुपर्‍यो। हरेक कमिटीमा यो छलफल सुरु हुनुपर्‍यो। पार्टीका हरेक कमिटीहरुमा खासगरीे सेन्ट्रल कमिटीमा पहिला कम्युनिष्ट पार्टीबाटै सुरु गर्नुपर्‍यो। हामी मध्ये यो उपभोग र उत्पादनका हिसाबले उत्पादनभन्दा उपभोग बढी नगरेका हामी को छौं भन्ने कुरा त्यो कमिटीमै ग्यारेण्टी हुनुपर्‍यो। पार्टीको ग्यारेण्टी हुनुपर्‍यो।’

उनले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न हरेक पार्टीभित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्नेमा जाेड दिए। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठजस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए। उनले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने उल्लेख गरे।

 

प्रकाशित मिति: १५:१० बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्