सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छ : नेता पोखरेल
पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरु सेटिङमा चलेको देखिएको र भरियालाई मात्रै पक्राउ गरिएकाले सरकार जवाफदेही भएर अनुसन्धान गर्नुपर्ने बताए।
काठमाडौं, साउन ७ : नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन्।
४५औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरु सेटिङमा चलेको देखिएको र भरियालाई मात्रै पक्राउ गरिएकाले सरकार जवाफदेही भएर अनुसन्धान गर्नुपर्ने बताए।
मुलुकमा सरकार रहेपनि आर्थिक विकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको उनले आरोप लगाए। पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढाउन नसकेको पनि उल्लेख गरे।
उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश र जनताका लािग पुष्पलाल लगाएतका नेताहरुले बोकेका उदेश्यहरुलाई पुरा गर्न सक्यौ कि सकेनौं भन्ने समीक्षा गर्न आवश्यक रहेको बताए। उनले शीर्ष दलहरू बिभिन्न कामका लागि छलफलमा जुटेपनि गरिबी हटाउने राष्ट्रिय एजेन्डामा भने बनाउन नसकिएको जिकिर गरे।











