Kathmandu Press

पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए। कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भयो।
पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा रहेको पुष्पलालको प्रतिमामा माल्यार्पणपछि । तस्बिर : रूपेश आचार्य/रासस

काठमाडाैं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई नेपालका कम्युनिष्ट आन्दोलनको अगुवाको रुपमा लिइन्छ। मार्क्स  र एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरी पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण पुष्पलालले गरेका थिए। 

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए। कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भयो। भारतको पश्चिम बङ्गालको कोलकातामा नेकपाको घोषणा भएको थियो। पुष्पलाल नेकपाको संस्थापक महासचिव भए। 

नेकपाको संस्थापकमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो। विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिनुभएका पुष्पलालको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो। पुष्पलालको ४५औं स्मृति दिवस देशभर मनाइँदैछ। 

नेकपा एमालेका नेता मुकुन्द न्यौपानका अनुसार पुष्पलालले कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गर्ने काम गर्नुभएको हो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत कम्युनिष्ट पार्टीले पुष्पलालको योगदानलाई कम आँकलन गर्न नहुने उनको भनाइ छ। नेता न्यौपानेले पुष्पलालले २०२७ सालअघि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताए।

'पुष्पलालले २०२७ सालमा नेपालमा प्रजातन्त्र पुनःवहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो। हामी उग्रपन्थी थियाैं। कांग्रेससँग मिल्ने रु भनेर  पुष्पलाललाई दक्षिणपन्थी भनेर आलोचना गर्‍यौँ', नेता न्यौपानेले भन्नुभयो, 'पछि  हामीले २०४३ सालमा पञ्चायतलाई उपयोग गर्ने निर्णय गर्‍यौँ।'  

नेपालका प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा ल्याउने सकिँदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिँदैन भन्ने पुष्पलालले अगाडि सारेको विचारलाई आत्मसात गर्दै २०४६ सालमा कांग्रेससँग मोर्चा बनाउने निर्णयमा पुगेको नेता न्यौपाने बताउँछन्।  पुष्पलालले भनेजस्तै कांग्रेससँग मोर्चा बनाएर २०४६ सालमा प्रजातन्त्रको पुनःबहाली गरेको उनको भनाइ छ। पुष्पलालले गठन गरेको नेकपा अहिले छिन्नभिन्न भएको छ। तर पनि नेपालका कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन्। 

माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलाल कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुआत गर्ने नेताको रुपमा रहनुभएको बताए। पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागर गरेकाले उनले सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको नेता कार्कीले बताए।  

'पुष्पलालको पालामा पनि पार्टी विभिन्न चिरामा थिए। उनले पनि एउटा घरको प्रतिनिधित्व गरेका थिए,' उनले भने। आज ४५औँ पुष्पलाल स्मृति दिवस एमाले, एकीकृत समाजवादीलगायत पार्टीले विविध कार्यक्रम गरी मनाएका छन्। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ। यस्तै उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ।

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्