सुन तस्करी प्रकरण : भन्सारका ३ कर्मचारी र ३ भन्सार एजेन्ट पक्राउ
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौं, साउन ७ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन्।
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको विशेष टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो।
आज पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। त्यसैगरी सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन्।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर काठमाडौं ल्याइएको थियो। भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लागेको सुन बरामद गरिएको थियो।











