Kathmandu Press

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए। 
अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

काठमाडाैं, साउन ७ : नेकपा एमालेनिकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ। 

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए। 

'अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्', उनले भने, 'अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौं।' अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्। 

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रुपमा अन्य आन्दोलन गर्ने बताए। 

पत्रकार भेटघाटमा उहाँले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राखे। उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताए। 

१० हजार कमिटी गठन

यसैगरी अखिलले सङ्गठन विस्तारका लागि १० हजार कमिटी गठन गर्ने अभियान थालेको छ। छ महिनाभित्र वडा तह, पालिका तह, क्याम्पस तहसम्म १० हजार कमिटी गठन गर्ने अध्यक्ष बडालले जानकारी दिए। 

अभियानकै क्रममा अहिले क्याम्पस तहमा सदस्यता विवरण गरिरहेको जनाइएको छ। यही साउन १ देखि १० गतेसम्म क्याम्पसमा सङ्गठनका लागि सदस्यता विवरण गरिरहेको उनको भनाइ छ।

क्याम्पसपछि कक्षा ११ र १२ मा अध्ययनरत रहेका विद्यार्थीलाई अखिलको सदस्यता विवरण गर्ने जनाइएको छ। अध्यक्ष बडालले आफ्नो सङ्गठनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई अखिलको सदस्य नबनाउने घोषणा गरे।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्