अहिले पार्टीमा पात्र परिवर्तन होइन, प्रवृत्ति परिवर्तन आवश्यक छ : अर्जुननरसिंह केसी

काठमाडाैं, साउन ७ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति बनाउनुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले भ्रष्टाचार काण्डका बारेमा मौन बस्ने हो भने पार्टी अर्को चुनावमा जनतासामु जान नसक्ने अवस्थामा पुगने उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय समितिको आइतबार जारी बैठकमा आफ्नो धारणा राख्दै उनले भने, ‘नक्कलीभुटानी शणार्थी, बालुवाटार जग्गा हिनामिनालगायत भ्रष्टाचारका चर्चित सबै काण्डबारे छलफल गर्नुपर्छ। यसलाई उठाउन सकिएन भने हामी अर्को पटक जनता सामु जान सक्दैनौं।’
उनले महामन्त्री गगनकुमार थापाले ल्याएको कार्यतालिका उपयोगी छ र स्वागतयोग्य भएको बताए। तर नेताहरूको प्रवृत्ति नै फेरिएन भने कार्यतालिकाले मात्रै केही नहुने बताए।
‘महामन्त्रीले कार्यतालिका ल्याउनुभएको छ। यो उपयोगी छ र स्वागतयोग्य छ,’ उनले भने, ‘तर प्रवृत्तिगत रुपमा फेरिन सक्दैनौं। गरिबी, बेरोजगारी, मल नपाएको विषय किन नहोस्। यी महत्वपूर्ण विषयमा एजेन्डा बनाऔं। नीति बनाऔं। अनि मात्र जनताका घरघरमा जाऔं। नत्र घरघरमा गएर मात्रै केही हुँदैन।’
पहिलाकै सदस्यता जोगाउन चुनौती भएका बेला ७ लाख सदस्यता थप्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए। ‘पहिलेकै सदस्यता कायम राख्न सकिन्छ कि सकिँदैन ७ लाख सदस्यता थप्ने कुरा विश्वास लाग्दैन,' उनले भने।
उनले अहिले पात्र भन्दा पनि प्रवृत्ति परिवर्तनको खाँचो रहेको उनको भनाइ थियो। 'अहिले पात्र परिवर्तन होइन, प्रवृत्ति परिवर्तन आवश्यकता हो। सभापतिलाई संस्था भनेको सुनेँ। म चाहिँ मान्दिनँ। सभापतिलाई संस्था मान्ने होइन। संस्थाको प्रमुख सभापति हो। सभापतिलाई बल पुर्याउनुपर्छ। तर विधि र नियमका आधारमा सभापतिलाई बल पुर्याउनुपर्छ। सभापति भनेको आत्मसमर्पण होइन।'
लोकतन्त्र प्रकियाले चल्ने बताउँदै उनले भने, 'कार्यसम्पादन समितिमा धेरै कुरामा विमति राखेका छौं। हाम्रा फरक मत पनि यहाँ दर्ज होस्।’











