Kathmandu Press

‘जुम्लामा नुन अभाव छैन, पर्याप्त मौज्दात छ’

‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ’, कार्यालय प्रमुख मल्लले भने।
‘जुम्लामा नुन अभाव छैन, पर्याप्त मौज्दात छ’

जुम्ला, साउन ७ : जुम्लामा नुन अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ। अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ।

‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ’, कार्यालय प्रमुख मल्लले भने।

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट  उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए। गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा  सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ।

गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।
 
तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए। वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए।

 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्