Kathmandu Press

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप–प्रत्यारोप स्वभाविक हो : सभापति देउवा

‘ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्नु हुँदैन।’
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप–प्रत्यारोप स्वभाविक हो : सभापति देउवा

सुनसरी, साउन ६ : कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप–प्रत्यारोप चल्नु स्वाभाविक भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा कांग्रसको जिल्ला सम्मेलनको उद्घाटन गर्दैै सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आरोप–प्रत्यारोप भएको विषयमा कोट्याउँदै कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप–प्रत्यारोप हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए।

देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर कांग्रेसले उत्कृष्ट काम गरेको बताए । उनले भने, ‘ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्नु हुँदैन।’

पार्टीभित्रको मतभेदलाई बैठकबाटै टुंग्याएर पार्टीभित्र आन्तरिक एकता कायम गर्न आवश्यक भएको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिँदै लोकतन्त्र संस्थागत गर्नुपर्ने बताए।

विगतमा दुई तिहाइ बहुमतको दम्भले नेकपा संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले पनि स्थिर सरकार रहन नदिने चलखेल भइरहेकाले सबै लोकतन्त्र पक्षधर एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्दै सभापति देउवाले २०८४ को निर्वाचनमा एकल कांग्रेसको तीनै तहमा सरकार बनाउने गरी अभियानमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे।

 

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्