काठमाडौंको फोहोर तीन दिनभित्र उठिसक्ने
उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मंगलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ।
काठमाडौं, साउन ६ : साउन १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ। फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ।
उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र आज एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए। उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मंगलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ।
एक वर्षअघि काठमाडौं महानगर र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए।
नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए।
महानगरसँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो। अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।
सामान्यतया काठमाडौं उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ। विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो।











