सवारी दुर्घटनामा उपत्यकामा तीन जनाको मृत्यु
ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
काठमाडौं, साउन ६ : काठमाडौं र ललितपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै काठमाडौंको शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो।
टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामङ्गल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











