Kathmandu Press

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गरे। 
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, साउन ६ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्। 

बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गरे। 

बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरुले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताए। 

बिपी कोइरालाको सिद्धान्त अनुरुपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ। अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे। 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बिपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको  सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरे।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बिपी कोइरालाको सोच सान्दर्भिक रहेको बताए। त्यसका लागि बिपीले गरिब किसानका तस्बिर योजना आयोगमा राख्ने प्रणालीको विकास गराउनुभएको समेत उनले स्मरण गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बिपीसँग माओवादीको पनि बिचार मिल्ने धारणा राखे। सङ्ग्रहालयमा विपीको जीवनकालमा प्रयोग भएका चिजविज सङ्ग्रह गरिनुपर्ने उनको भनाइ छ।

सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डीराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री) लाई संयुक्तरुपमा प्रदान गरेको छ। त्यसैगरी बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फको पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ। पुरस्कारको राशी जनही रु एक लाख छ।

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्