Kathmandu Press

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौं : महामन्त्री शर्मा

'लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन,' महामन्त्री शर्माले भने।
बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौं : महामन्त्री शर्मा

काठमाडाैं, साउन ६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताए।

'लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन,' महामन्त्री शर्माले भने।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनले गुनासो गरे। 'बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति बेहोर्नुपर्‍यो', महामन्त्री शर्माले भने।

मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उनको भनाइ थियो।

'हामीले २०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो', महामन्त्री शर्माले भने। समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्