Kathmandu Press

बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौं : मुख्यमन्त्री पाण्डे

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए। 
बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौं : मुख्यमन्त्री पाण्डे

पाेखरा, साउन ६ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन्। 

नेपाली कांग्रेस बागलुङले आज ४१औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले बिपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए। 

उनले बिपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। 'बिपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरुले समेत बिपीको विचारलाई मान्ने गरेका छन्त र बिपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ', मुख्यमन्त्री पाण्डेले भने, 'उनले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आआफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ।' 

अब बिपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गरे। उनले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए। कालिका मन्दिर परिसरमा ४१औँ बिपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षका बिरुवा वृक्षरोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। 

प्रकाशित मिति: १३:५४ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्