भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएपछि महाकाली नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
दार्चुला, साउन ६ : महाकालीमा नदीमा शनिबार बिहानैदेखि पानीको बहाव बढेको छ। निरन्तरको वर्षा र भारतले धौलीगंगा बाँध खोल्दा महाकालीमा पानीको सतह बढेको हो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बुधबार सूचना प्रकाशित गरी शनिबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलिने भारतीय पक्षले जानकारी दिएको थियो। भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी पठाएको थियो।
भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएपछि महाकाली नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
धौलीगंगा बाधको ढोका खोलेपछि व्याँस गाउँपालिका–५ स्थित स्याकु गाउँको मुनिबाट महाकाली नदीमा मिसिने हुनाले त्यहाँदेखि तल लालीसम्मको तटीय क्षेत्रका स्थानीयमा नदीमा पानी बढ्ने बित्तिकै त्रास छाउने गर्छ।
बिहानैदेखि पानीको सतह बढेपछि नदीले कटान गर्ने हुँदा तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को श्रीबगर बस्तीको मुनि कटान भइरहेको स्थानीयले जनाएका छन्।











