‘न्यायालयलाई स्वतन्त्र र निष्पक्ष बनाइनुपर्छ’
जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले स्वतन्त्र र निष्पक्ष न्यायालयको सुनिश्चितताका लागि कानुन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए।
काठमाडौं, साउन ६ : मुलुकको न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन कानुन व्यवसायीको सक्रिय भूमिका हुनुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले औंल्याएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानुन व्यवसायीको छाता संगठन संघीय कानुन व्यवसायी संघको पहिलो राष्ट्रिय सम्मेलनका अवसरमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउन कानुन व्यवसायी सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए।
जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले स्वतन्त्र र निष्पक्ष न्यायालयको सुनिश्चितताका लागि कानुन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए।
संघीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुनका लागि पनि न्यायालय समावेशी हुनुपर्ने माग अध्यक्ष यादवले गरे। ‘संघीय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि समावेशी लोकतन्त्रको रुपमा विकास गरिनुपर्छ,’ उनले भने, ‘अझै पनि नेपाली राजनीतिक प्रणालीमा संस्थागत र संरचनागत विधेयक कायमै छ, पुरानो राज्य संरचना र प्रणाली कायमै छ, त्यसैले प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढ तुल्याउन विविधतालाई समेटेर अघि बढ्नुपर्छ।’
कार्यक्रममा पूर्वमन्त्री एवं जसपाका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले कानुन व्यवसायीको दायित्व निर्वाह गर्दै स्वतन्त्र र निष्पक्ष न्यायालायको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औंल्याए। नेता श्रेष्ठले वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने भन्दै संघीयताको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन र न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा विशेष ध्यान दिने विश्वास व्यक्त गरे।
जसपाको संगठन विभाग प्रमुख एवं कार्यकारिणी समिति सदस्य रणध्वोज कन्दङ्वाले राजनीतिलाई सही दिशा दिनका निम्ति कानुन व्यवसायीको सक्रिय भूमिका चाहिने बताए। मधेश प्रदेशका पूर्वमहान्यायधिवक्ता दीपेन्द्र झाले राजनीतिक पार्टीलाई कानुन सम्मत ढंगले अगाडि बढाउन र संघीयता अनुरुप न्यायालयको प्रभावकारितामा कानुन व्यवसायीले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
यस्तै, वरिष्ठ अधिवक्ता तथा उपराष्ट्रपति कार्यालयको कानुन विज्ञ मिथिलेसकुमार सिंहले स्वतन्त्र र निष्पक्ष एवं पूर्णसमावेशी न्यायालयको निम्ति कानुन व्यवसायी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले न्यायालयभित्र देखिने गरेका विकृति र विसङ्गती रोक्न सबैको सक्रियता चाहिने बताए।
वरिष्ठ अधिवक्ता तेजबहादुर राईले न्याय प्रणालीको प्रभावकारिता र पारदर्शिताका लागि कानुन व्यवसायिले निरन्तर खबरदारी गर्नुपर्ने बताए भने संघका अध्यक्ष दीपक राईले पूर्ण समावेशी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाए।
दुई दिनसम्म चलने सम्मेलनले नयाँ कार्यसमितिका लागि नेतृत्व चयन गर्नेछ। सो अवसरमा कानुनी सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै संघकातर्फबाट वरिष्ठ अधिवक्ता मिथिलेसकुमार सिंहलाई सम्मान गरिएको थियो।











