सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता
उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए।
काठमाडौं, साउन ६ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका १२५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए।
सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ। यस्तै, जुवासम्बन्धी कसुरमा ११ जनाविरुद्ध २, नागरिकतासम्बन्धी १ जनाविरुद्ध १, सङ्गठित अपराधमा २ जना पक्राउ गरी १ मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ।
यस्तै खेलसम्बन्धी ३ जनाविरुद्ध १, दुरसञ्चार हानीसम्बन्धी १४ जनाविरुद्ध २, सहकारी ठगीमा १४ जना पक्राउ गरी ५, लिखतसम्बन्धी ४ जनालाई पक्राउ गरी ३ मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ। आर्थिक अपराध अनुसन्धानको सिलसिलामा ८ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ।
यस्तै लिखत÷ठगी÷वैदेशिक रोजगार÷नागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ। वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ।
मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी ३० करोड ६ लाख रुपैयाँ जरिवना असुल र १२९ वर्ष कैद सजाय फर्स्योटका लागि अदालतमा पठाइएको सिआईबीले जनाएको छ।











