पुर्पक्षमा राखिएको अवस्थामा बालकृष्ण खाणलाई दोषी भन्न मिल्दैन : गोपालमान श्रेष्ठ

काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका कुनै सदस्यहरुलाई अभियोग लाग्दैमा दोषी करार गर्न नहुने धारणा राखेका छन्।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनीहरुले अदालतले ठहर नगरेसम्म दोषी हुन नसक्ने भन्दै अभियोगकै कारण दोषी करार गर्न नहुने बताएका हुन् ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीका नेता बालकृष्ण खाँणलाई पुर्पक्षमा राखेको अवस्थामा दोषी भन्न नमिल्ने बताए। कांग्रेस परिवारका सदस्य जेलमा भएको अवस्थामा सहयोग गर्नुपर्ने उहाको भनाइ छ।
खाणलाई रोक्न सकिने अवस्था हुँदाहुँदै किन रोकिएन भन्दै उनले पार्टीलाई प्रश्न गरे। ‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन?’ उनले भने। निर्दोष ठहरिएर खाण बाहिर निस्कने अपेक्षा सबैले राख्नुपर्ने उनकाे भनाइ थियाे।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले परिवारका सदस्यलाई अभियोग लाग्दा पार्टीकै व्यक्तिहरु छिटो पक्रिनु भनेर डेलिगेसन गरेको भन्दै आपत्ती जनाए। अदालत नभई पार्टीले नै दोषी करार गर्ने हो भने वकिल राखेर वहस पनि गर्न नहुने उनको भनाइ छ।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने धारणा राखे। चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराउदै उहाले पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबिचको समन्वयमा पनि जोड दिए।
केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय समितिको अर्को बैठक आइतबार ११ बजे बस्ने कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए।











