संघीयताबारे पुनर्विचार गर्नुपर्छ, धर्मनिरपेक्षतालाई हटाउनुपर्छ : शंकर भण्डारी
‘अहिलेको संविधान सम्झौताको दस्तावेज हो अहिलेको संविधान। विवादस्पद व्यवस्था भएको संविधान जारी भएको दिवस कांग्रेसले मनाउन सक्छ? यसमा घोर आपत्ति हो। संविधान धर्मनिरपेक्षताको कुरा छ। जुन सनातन धर्म मास्न ल्याइएको छ। त्यसलाई संशोधन गर्नुपर्छ।’
काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताका विषयमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका दृष्टिले समस्याहरू देखिएका छन्। त्यसकारण संघीयताका विषयमा पुनर्विचार गर्नुपर्छ। निर्वाचन प्रणालीका विषयमा पनि पुनर्विचार गर्नुपर्छ।’
केन्द्रीय समितिमा भइरहेको छलफलको सान्दर्भिकता नभएको पनि उनले बताए। ‘एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आइसक्यो। यसलाई पदाधिकारीले कसरी हेर्नुभएको छ? यो समस्या हो कि होइन? क्रियाशील सदस्यअनुसारको भोट किन आउँदैन? किन त्यस्तो भइरहेको छैन? समाधानको उपाय के हो?’
उनले वर्तमान संविधानलाई सम्झौताको दस्तावेज भएको बताए। संविधानमा धर्मनिरपेक्षता सनातन धर्म मास्न ल्याइएको दाबी पनि उनले गरे। ‘अहिलेको संविधान सम्झौताको दस्तावेज हो अहिलेको संविधान। विवादस्पद व्यवस्था भएको संविधान जारी भएको दिवस कांग्रेसले मनाउन सक्छ? यसमा घोर आपत्ति हो। संविधान धर्मनिरपेक्षताको कुरा छ। जुन सनातन धर्म मास्न ल्याइएको छ। त्यसलाई संशोधन गर्नुपर्छ।’











