Kathmandu Press

संविधानको पूर्ण कार्यान्वयनको जिम्मेवारी कांग्रेसकाे काँधमा : सीता गुरूङ

सहरी विकासमन्त्रीसमेत रहेकी उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने धारणा बताइन्।
संविधानको पूर्ण कार्यान्वयनको जिम्मेवारी कांग्रेसकाे काँधमा : सीता गुरूङ

काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरूङले कांग्रेसको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान आएको हुँदा त्यसको पूर्ण कार्यान्वयनको जिम्मेवारीसमेत कांग्रेसकै काँधमा रहेको बताएकी छन्।

सहरी विकासमन्त्रीसमेत रहेकी उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने धारणा बताइन्।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै  उनले भनिन्, ‘प्रदेशलाई कमजोर बनाएर संघीयतालाई मजबुद बनाउन सकिँदैन। त्यसकारण पार्टीले गर्ने गतिविधिमा पनि प्रदेशलाई भूमिका दिने, अधिकार दिने कुरामा ध्यान दिनु उपयुक्त होला।’

उनले कांग्रेसको यो बैठकले जनताका दुःखसुख र समस्या समाधानको खाका तयार पार्नुपर्नेमा जाेड दिइन्। ‘जनताको जनजीविकाको कुरा, महिला शशक्तीकरण र युवालाई रोजगारी तथा आर्थिक आत्मनिर्भरताको बाटोमा देशलाई अघि बढाउने विषयमा पार्टीको अवधारणा प्रष्ट पारेर अघि बढ्नु आवश्यक छ,’ उनले भनिन्। 

उनले पार्टीका उम्मेदवारलाई दण्डित गरेर अघि बढ्नुपर्ने उनकाे भनाइ थियाे। ‘अनुशासन समितिलाई छिटोभन्दा छिटो पूर्णता दिऔं,' उनले भनिन्, 'देशभरि अनुगमन टोली खटाएर गल्ती गर्नेहरूलाई कारबाही र कमजोरीहरूलाई सच्याएर पार्टीलाई अघि बढाऔं।’

देशको आर्थिक अवस्थाका कारण सरकारमा रहेर पनि आफूले चाहेका सबै काम गर्न नसकिरहेको उनले बताइन्। पार्टीले सरकारमा पठाएर काम गर्ने जिम्मेवारी दिए पनि बजेट अभावका कारण विकास निर्माणका थुप्रै काम प्रभावित भएको उनकाे भनाइ थियाे।

‘हामी चैत १७ गते सरकारमा गयौं। छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,’ उनले भनिन्, ‘देशको आर्थिक अवस्थाको कारणले पनि समस्या परेको छ। राम्रो गर्छु भन्ने अवश्य छ। तर देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन।’
 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्