Kathmandu Press

कांग्रेसको स्वास्थ्यमा समस्या रहेकाले शल्यक्रिया आवश्यक : प्रदीप पाैडेल

‘कांग्रेस संकटमा छ। आत्म मूल्यांकन जरुरी छ। पार्टीको स्वास्थ्यमा समस्या छ। सिटामोलबाट हल हुन्न सर्जरीको आवश्यकता छ।’
कांग्रेसको स्वास्थ्यमा समस्या रहेकाले शल्यक्रिया आवश्यक : प्रदीप पाैडेल

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको स्वास्थ्यमा समस्या रहेकाले शल्यक्रियाको आवश्यकता रहेको बताएका छन्। 

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेस संकटमा छ। आत्म मूल्यांकन जरुरी छ। पार्टीको स्वास्थ्यमा समस्या छ। सिटामोलबाट हल हुन्न सर्जरीको आवश्यकता छ।’ पार्टीमा कार्यकर्ताको पलायनता, निष्क्रियता र विद्रहोको अवस्था रहेको उनले बताए। वार्षिक क्यालेन्डरमा आएका कुराले मात्रै कांग्रेस रुपान्तरण हुन नसक्ने उनको भनाइ थियो। 

पौडेलले कांग्रेस मासबेस पार्टी भएकाले सदस्यता वर्गीकरण गर्न नहुने बताए। लिन चाहनेले सजिलै सदस्यता पाउनुपर्नेमा उनले जाेड दिए। ‘कांग्रेस मासवेश पार्टी हो। मासवेश पार्टीमा सदस्यता वर्गीकरण हुँदैन। लिन चाहानेले सदस्यता पाउनेहुन्छ। एउटा मात्रै सदस्यता कायम हुनुपर्छ। सजिलो प्रावधान राखेर सदस्यता दिइनुपर्छ।’

अहिलेको व्यवस्थाभित्रबाट कसैले पनि बहुमत ल्याउने स्थिति नरहने र यस्तो स्थितिमा स्थिरता पनि नरहने उनले बताए। ‘केही संवैधानिक प्रावधान सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ। समानुपातिक प्रतिनिधित्व हुनेगरी २०१ सिटको चुनाव होस्। प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरौं। राष्ट्रिय सभा ३५ सदस्य होस्। पार्टीको चुनाव सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौं। प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं। नेतृत्व सबै सदस्यले भोट हालेर चुन्ने व्यवस्था गरौं।’

उनले एउटा व्यक्तिलाई चार पटक भन्दा बढी संघीय सांसद्को टिकट दिन नहुने सुझाव पनि पेस गरे। प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिनुपर्ने पनि उनको प्रस्ताव थियो। ‘प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री २ पटक भन्दा बढी हुन नपाइने व्यवस्था गरौं,’ उनले भने।

कार्यसम्पादन समितिको निर्णयलाई दुई महिना भित्र अनुमोदन गर्नुपर्ने भनिएकाले सो अवधिभित्र अनुमोदन नगरे स्वतः अस्वीकृत हुने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए। 

उनले भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानबिनलाई कांग्रेसले सघाउनुपर्नेमा उनले जोड दिए। ‘भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्छ। गणतन्त्रपछिका चर्चित काण्डको छानबिन गर्न कांग्रेसले गर्नुपर्छ। गणतन्त्र पछि सबै नेताको छानबिन गर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ। व्यक्तिले कमजोरी गर्न सक्छ, पार्टीले गर्न सक्दैन। २०८४ को निर्वाचनमा सरकार बनाउन हामीलाई मत देउ भन्दा मत पाइँदैन। अहिले सरकारमा रहँदा हामीले यति काम गर्यौं र हामीलाई मत देउ भन्ने स्थिति हुनुपर्छ।’

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्