Kathmandu Press

कोशीका ११ जिल्लामा फैलियो डेङ्गु

यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको उनले बताइन् । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ।
कोशीका ११ जिल्लामा फैलियो डेङ्गु

सुनसरी, साउन ४ : लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईंका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन्।

यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको उनले बताइन् । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ।

गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ। डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्। सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ।

पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् ।

सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन्। कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै छन्।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताउए। प्रादेशिक अस्पताल भद्रपुरमा डेङ्गुका बिरामीको उपचार भइरहेको र डेङ्गु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्