Kathmandu Press

नेपाली नर्स बेलायत लैजान आवेदन खुल्ला

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन्। मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल’ मा दर्ता भएपछि मात्रै यो तलब सुविधा पाउनेछन् ।
नेपाली नर्स बेलायत लैजान आवेदन खुल्ला

काठमाडौं, साउन ४ : नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुला गरेको छ। नेपाल र बेलायतले तोकेको मापदण्ड पुगेको नेपाली नर्सका लागि बिहीबारदेखि आवेदन दिन पाउने बाटो खुलेको हो।

पहिलो चरणमा सय जना नर्सलाई लैजाने सहमति भएको छ। नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम सम्झौता भएको थियो ।

यो श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई कार्यान्वयनमा ल्याएको हो। इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ। १९ अक्टोबर २०२३ सम्म आवेदन दिन पाइनेछ ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन्। भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ। छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरुलाई तीनपटकसम्म परीक्षामा सामेल हुने मौका दिइनेछ।

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन्। मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल’ मा दर्ता भएपछि मात्रै यो तलब सुविधा पाउनेछन् ।

सहायक स्वास्थ्यकर्मीको रुपमा छनोट भएपछि बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला (लाइसेन्स) नर्सको दर्जा पाइने श्रम मन्त्रालयले जनाएको छ।

लाइसेन्स प्राप्त नर्सले तलबबाहेक एनएचएसको पेन्सन सुविधा पनि पाउनेछन । त्यस्तै नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँच हुनुका साथै साथै नर्सका ४ देखि १८ वर्षसम्मका सन्तानका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ।

 

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्