बुढाथाेकीमाथि खनिँदै मुख्यमन्त्री थापाले भने- तपाईले हिक्मतलाई मुख्यमन्त्री मान्नू, मलाई नमाने हुन्छ
कांगेस केन्द्रीय सदस्य एवं काेशी सभापति थापाले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर नपर्नेगरी काम गर्न अदालतले आदेश दिएको पनि जानकारी गराए।
काठमाडाैं, साउन ४ : काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफू नेतृत्वकाे सरकारलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।
कांगेस केन्द्रीय सदस्य एवं काेशी सभापति थापाले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर नपर्नेगरी काम गर्न अदालतले आदेश दिएको पनि जानकारी गराए। आज (बिहीबार) तेस्राे दिनकाे कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उनले हिजो (बुधबार) लिखित जवाफ पेस गर्ने काम भएको बताए। 'अदालतले न्याय गर्नेछ भन्ने विश्वास छ,' उनले भने।
उनले केही समय झापाका कांग्रेस नेता केशव बुढाथोकीमाथि पनि टिप्पणी गर्नमा खर्चिए। 'केशव बुढाथोकीले सरकारमाथि प्रश्न गर्नुभयो, मैले सुने। यही संगठनभित्र बसेर हाम्रो पार्टीको सरकार नबनोस् र बनेको सरकारलाई प्रश्न गर्ने कुराले कांग्रेस कार्यकर्ताको मनोबल घटाएको छ,' उनले भने।
अघिल्लो चुनावमा झापा २ मा गठबन्धनका उम्मेदवार हराउने काम बुढाथाेकीले गरेकाे उनले बताए। 'त्यतिबेला उहाँ भागेर अष्ट्रेलिया जानुभएको छ। देउमान थेवेलाई भोट नदेऊ भनेर उहाँले भनेको म्यासेज रेकर्ड छ। यस्ता नेतालाई कारबाही गर्नुपर्छ।'
आफूहरूले पार्टीका लागि घरको भात खाएर गोजीको पैसा हालेर पार्टीकाे काम गरेकाे तर बुढाथाेकीले अष्ट्रेलिया पुगेर फोनमार्फत गठबन्धनका उम्मेदवारलाई भोट नदेऊ भनी भड्काउने काम गरेकाे गम्भीर आराेप उनले लगाए। जिम्मेवार पदमा बसेर त्यसलाई बुढाथाेकीले निभाउन नसकेकाे उनकाे भनाइ थियाे।
नयाँ सरकार गठनका लागि दाबी गर्न एक मत अपुग भएपछि माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमले पनि हसताक्षर गरेका थिए र त्यसलाई प्रदेश प्रमुखले पनि मान्यता दिएका थिए। सरकार गठनकाे उक्त प्रक्रिया असंवैधानिक भएकाे भन्दै एमालेका नेता एवं काेशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले अदालतकाे ढाेका ठक्ढक्याएका थिए। मुख्यमन्त्री थापाले उक्त प्रक्रिया असंवैधानिक हुन नसक्ने दाबी गरे।
'उहाँ सभामुख मात्र होइन। प्रदेशसभाको सदस्य पनि हो। सदस्यको एउटा भूमिका हुन्छ। सभामुखको अर्को। सभाको अध्यक्षता गरेका बेला उहाँले मत हालेको भए गल्ती हुन्थ्यो। तर सभा नचलेका बेला उहाँले सही गर्नुभएको हो,' उनले भने, 'एउटा सदस्यको नाताले डेडलक तोडेको हो उहाँले।'
आफ्नै पार्टीबाट प्रदेश सरकार बन्दा विराेध गरेकाे भन्दै बुढाथाेकीमाथि उनी खनिए।बुढाथाेकीलाई इंगित गर्दै उनले भने, 'तपाईले हिक्मतलाई मुख्यमन्त्री मान्नू मलाई नमाने हुन्छ।'









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

