प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान
नेपाल जनप्रशासन संघले आयोजना गरेको एक कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरे।
काठमाडौं, साउन ३ : सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’बाट सम्मानित गरेको छ।
नेपाल जनप्रशासन संघले आयोजना गरेको एक कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरे। सम्मानको राशि जनही दुई लाख रूपैयाँ रहेको छ।
सम्मानित व्यक्तित्व प्रधानले करिब चारदशक सरकारी सेवामा बिताएका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गरेका थिए।
अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसकेका छन्।
पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्टट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेहका समितिले प्रधान र आचार्यलाई सम्मानका लागि छनोट गरेको हो।












