Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक : सभापतिलाई सुझबुझपूर्ण निर्णय लिन सुझावदेखि महामन्त्रीकाे विकल्प खोज्ने सम्मका कुरा

कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार सुरु भएको बैठकको दोस्रो दिन आज (बुधबार) केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। 
कांग्रेस केन्द्रीय समिति बैठक : सभापतिलाई सुझबुझपूर्ण निर्णय लिन सुझावदेखि महामन्त्रीकाे विकल्प खोज्ने सम्मका कुरा

काठमाडाैं, साउन ३ : कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार सुरु भएको बैठकको दोस्रो दिन आज (बुधबार) केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। 

यसैक्रममा केन्द्रीय सदस्य सीतादेवी देवकोटा सभापतिका बारेमा तथानाम गाली गर्ने छुट कसैलाई नभएकाे बताएकी छन्। 'सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुन्छ। पार्टी कमजोर बनाउने छुट कसैलाई पनि छैन,' भनिन्।

ससरकार फेरिने हल्ला बजारमा चलेकाे उनले बताइन्। 'देश र जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ। कि माओवादीलाई सिध्याउने कि कांग्रेसलाई सिध्याउने खेल छ। यो सामान्य खेल छैन। त्यसकारण सुझबुझपूर्ण निर्णय सभापतिले लिनुहुन्छ भन्ने मलाई लाग्छ,' उनले भनिन्।

जबसम्म खाडी मुलुकमा रहेका मजदुरहरुको मनमा बस्न नसकेसम्म देश र कांग्रेसको भविष्य सुन्दर नहुने उनकाे भनाइ थियाे। अनावश्यक कुरा गरेर कसैले पनि 'पपुलिस्ट' हुन खोज्न नहुने उनले बताइन्। 'शेरबहादुरबाट पार्टी चल्दैन भन्ने महामन्त्रीले शेरबहादुरबाटै सिकेको हुँ भन्ने कुराले के सन्देश जान्छ?' उनले प्रश्न गरिन्। 

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन उनले अनुरोध गरिन्। कोषाध्यक्षमा महिलालाई ल्याउन पनि उनले अनुरोध गरिन्।

अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कानुन सबैलाई समान रूपमा हुनुपर्नेमा जाेड दिएका छन्। 'अहिले मुलुकमा २ कानुन छन्। एउटा मधेसका लागि अर्को अन्य ठाउँका लागि।' यस्ताे विभेदकारी अवस्थाकाे अन्त्य हुनुपर्नेमा उनले जाेड  दिए। उनले दक्षिणको नाकाबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने तर उत्तर र एयरपोर्टबाट ल्याउँदा नलाग्ने अवस्था रहेकाे बताए। 'दैनिक उपभोग्य समान दक्षिणको नाकाबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्छ। सयले कात्रो पनि आउँदैन कफन पनि आउँदैन। मधेसमा कर लाग्ने उत्तर र एयरपोर्टबाट ल्याउँदा लाग्दैन। यसलाई मिलाउनुपर्छ,' उनले भने।

उनले भुटानी शरणार्थीको विषयमा कुनै निर्दोष फस्न नहुने अपराधि उम्कन नहुने बताए।  वार्षिक क्यालेन्डर राम्रो भएकाले अक्षरशः कार्यान्वयन गर्नुपर्ने सुझाए। ०७४ सालको चुनावको अहिले समीक्षा भइरहेको बताउँदै उनले २०७९ को कहिले हुन्छ भनी प्रश्न गरे।

'गोपालमानजीले ल्याएको प्रतिवेदन ०७४ को हो। हामी कहाँ छौं, कति पछि छौं? गणेश प्रवृत्ति भएकालाई पद दिने र गाउँमा दुःख गरेकालाई किन नदिइएको? नेता र मन्त्रीको ठाउँमा मात्र बजेट जाने अवस्था छ। विभेदकारी बजेट किन ल्याइयो? यता तिर पनि ध्यान जाओस्,' उनले भने।

त्यस्तै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीहरुले दायरा फराकिलो नबनाए विकल्प खोज्ने बताएक छन्। ‘तपाईंहरुले जसरी विकल्प खोज्छु भन्दै हुनुहुन्छ। तपाईंहरुको विकल्प पनि हामीले खोज्नुपर्छ।’ उनले सभापति संस्था भएको बताइन्। ‘सभापति खराब र हामी असल हौं भन्ने दाबी तपाईँहरुले गर्नुभएको छ। त्यो हास्यास्पद छ। महामन्त्रीज्यूहरु सभापतिसँगै उभिनु जरुरी छ। कांग्रेसको नेता अभियोग लागेर पक्राउ पर्दा कांग्रेसका नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिन पुग्नुहुन्छ। के कारणले हो, थाहा छैन।’ त्यही प्रकृतिको आरोप अर्को दलको नेतालाई लाग्दा महामन्त्रीहरु नबोल्ने गरेको उनले बताइन्। ‘कांग्रेस कानुनी सर्वोच्चतालाई मान्छ। कांग्रेसका कार्यताले पनि मान्नुपर्छ,’ उनले भनिन्।

अर्का केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले स्थानीय तहमा जितेकाहरुले पार्टीको वास्ता नगरेको भन्ने गुनासो आउने गरेको बताए। ‘गाउँमा पनि भ्रष्टचार बढेको छ। यी भ्रष्टहरुलाई के गर्दा ठिक हुन्छ? महामन्त्रीहरुले सोच्नुस्। अहिले कांग्रेसले विश्वास गुमाएको छ। हामी निष्कृय बनेका छौं। हामी सक्रिय हुँदा यो निराशा छ। अहिले पुच्छरले कुकर हल्लाइरहेको छ। स्थानीय तहमा जितेकाहरुले पार्टीको वास्ता नगरेको भन्ने गुनासो छ।’

सबै तहका संगठन निष्कृय रहेको, बैठक समेत नबस्ने गरेको स्पष्ट पार्दै उनले भने, ‘साथीहरुबीच छलफल हराएको छ। यसलाई सक्रिय कसरी बनाउने हो? कांग्रेस गुटका कारणले विभाजित छ। त्यसका कारण कांग्रेस कांग्रेसजस्तो बन्न सकेको छैन।’ तल्लो तहबाट पार्टी हितविपरीत काम गरेकालाई कारबाहीका लागि सिफारिस गर्दा जोगाउने मात्रै होइन पुरस्कृत गर्ने काम भएको उनले बताए। ‘तपाईंहरुले यो बैठक सकिँदा गुट त्याग्यौं भनेर घोषणा गर्नुस् भन्ने मेरो आग्रह छ। हाम्रो पार्टीमा कार्यकर्ता छैन, नेतैनेता छन्। अहिले कांग्रेस सक्ने परम्परा छ। एकथरीले नेताहरुलाई गाली गरिरहेका छन्, हामी काखी बजाएर बसेका छौं,’ उनले भने। सत्यतथ्यमा रहेर प्रतिकार गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्